सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
नेपाल–इटाली चेम्बर अफ कमर्शको १० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण गरेको पनि स्पष्ट गर्नुभयो।
लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको, दर्ता, नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनी सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको बताउनुभयो।
मन्त्री शर्माले सरकार आगामी महिना हुने चौथो लगानी सम्मेलनको तयारीमा जुटेको जानकारी गराउँदै इटालीका लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल–इटाली चेम्बर अफ कमर्शलाई आग्रह गर्नुभयो। लगानी सम्मेलनलाई मध्यनजर गरी दर्जन बढी कानुन तत्काल संशोधन गर्ने तयारी रहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो।
पछिल्लो समय नेपाल र इटलीबीच द्विपक्षीय व्यापारको राम्रो संभावना बढ्दै गएको उल्लेख गर्दै उहाँले निर्यात बढाउँदै व्यापार सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो। नेपालमा अन्तर्राष्ट्रिय पर्यटक पठाउने देशमा पनि इटालियन अगाडि रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्राकृतिक, साँस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्यस्थल रहेको रुपमा रहेको नेपालमा पर्यटकको संख्या गुणात्मकरुपमा बढाउन आवश्यक रहेको बताउनुभयो।


