गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत जारी भएको हतियारका विषममो एक छानबिन समिति गठन गरेको छ। बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा आज मन्त्रालयले छानबिन समिति गठन गरेको गृहका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो।
यही चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा प्रसाईंको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए ३५४७५२ नम्बरको हतियारसहित उनका दुईजना अङ्गरक्षक पक्राउ परेका थिए। पक्राउ पर्नेमा दीपक खड्का र राजकुमार धिमाल रहेका थिए।
सर्वोच्चले अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न पनि आदेश भएकाले सोही आदेश कार्यान्वयनका लागि गृहले छानबिन समिति गठन गरेको हो।
व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा गृह मन्त्रालयले उक्त समिति गठन गरेको र कार्यप्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
समितिलाई जिल्ला प्रशासन कार्यालय झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईँको नाममा जारी भएको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ।


