हेटौँडा ,चैत्र १९ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् ।
सोमबार प्रदेशसभामा उपस्थित कुल १०८ सदस्यमध्ये जम्कट्टेलको पक्षमा ५६ मत पर्यो भने विपक्षमा जम्मा ३७ मत पर्यो । यस्तै १५ सांसद तटस्थ बसे । जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिँदा कांग्रेसले मात्र विपक्षमा मतदान गरेको हो । यस्तै राप्रपा र नेमकिपाका सांसद भने तटस्थ रहे ।
११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन आवश्यक कुल ५६ सांसदको विश्वासको मत पाउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार जम्कट्टेलको पक्षमा नेकपा माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुख सहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ सांसदले मत दिएका हुन् । राप्रपाका १३ सांसद र नेमकीपाका ३ सांसदले तथस्ट बसे । यस्तै कांग्रेसका ३७ सांसदले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत प्रदान गरे ।


