गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी तथा सूचना उपलब्ध गराउन माग गरेको छ ।
आफ्नो गाउँ ठाउँमा त्यसरी सञ्चालन भएका संस्थाले कानुन विपरीत वा गर्नुपर्ने कार्य नगरेको भएमा जिल्ला प्रशासन कार्यालयमा सूचना दिएर सहयोग गर्न मन्त्रालयले आम सर्वसाधारणमा अनुरोध गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता भएका वर्ग, पेसा वा क्षेत्रसँग सम्बन्धित संस्था र संस्था दर्ता ऐन, २०३४ बमोजिम स्थापना भएका संस्थामध्ये कतिपयले प्रचलित कानुन र संस्थाको उद्देश्य विपरीतका कार्य गरेको, दर्ता नै नगरी कार्यक्रम सञ्चालन गरेको गुनासा आएकाले त्यस्ता संस्थाबारे नागरिकबाट सूचना माग गरिएको बताउनुभयो ।
गृह मन्त्रालयले कुनै संस्थाले कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेको वा प्रचलित कानुन विपरीत कार्य गरेको भएमा तत्काल अनुगमन गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिएको छ ।
प्रचलित कानुन बमोजिम गर्नुपर्ने कार्य नगरेका संस्थाहरुले कानुन बमोजिम गर्नुपर्ने कार्य कानुनले तोकेको समयभित्रै सम्पन्न गरी आन्तरिक सुशासन कायम गर्न पनि ती संस्थालाई अनुरोध गरिएको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता भएका वर्ग, पेसा वा क्षेत्रसँग सम्बन्धित संस्था र संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, व्यावसायिक र परोपकारी संस्थाले नागरिकको सशक्तीकरण, सामाजिक पुँजी निर्माण र लक्षित समूहको आर्थिक, सामाजिक विकासमा उल्लेख्य भूमिका खेलेका मन्त्रालयले जनाएको छ ।


