राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले शिष्टाचार भेट गर्नुभएको छ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो। भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबिचको सम्बन्ध थप मजबुत र घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो।।
नेपाल शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सधैँ मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौँ, संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा नेपाल र इजरायलबिच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ।”
लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्त्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो।
‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली नागरिकमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गर्नुभयो। उहाँले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभयो।
इजरायलबाट नेपालमा उल्लेख्य पर्यटक आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ धेरै इजरायली नागरिकलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवर्द्धन गर्नमा योगदान गरिदिन आग्रहसमेत गर्नुभयो।
इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो। विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको राजदूत गोदारले जानकारी दिनुभयो।


