सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दुई दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुनः आव्हान गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखले आव्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त प्रमुख शैलेश ढुङ्गानाले बताउनुभयो ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार वैशाख ६ गते बेलुका ५ बजे भित्र मुख्यमन्त्रीका लागि दावेदारी गर्न आव्हान गरिएको छ । विज्ञप्तिमा अघिल्लो १० दिने समय सीमामा नागरिक उन्मुक्तिका दुई जनाले मुख्यमन्त्रीमा दावेदारी गरेकाले निष्कर्षमा पुग्न नसकिएको उल्लेख गरिएको छ ।
अब नेकपा (एमाले) को १०, नेकपा (माओवादी केन्द्र) को १०, स्वतन्त्रका एक र उन्मुक्तिका दुई जनाको समर्थनमा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो ४ जनासहित मुख्यमन्त्रीमा दाबी गर्ने सो पार्टीका कैलाली सचिव दीर्घ जोशीले बताउनुभयो ।
यसअघि मंगलबार नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई नेकपा (एकीकृत समाजवादी) ले दिएको समर्थन मंगलबार फिर्ता लिएको थियो ।
एकीकृत समाजवादी दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नाजिर मियालाई भेटेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीको दावेदारीका लागि दिएको समर्थन फिर्ता लिनुभएको थियो । सङ्घीय सरकारको समीकरणअनुसार नै जानेगरी प्रदेश सरकार बनाउन सहमति भएको बताइएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने अवस्था आएपछि चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख मियाले चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दावेदारी गर्न १० दिनको समय सीमा दिनुभएको थियो । वैशाख २ गते उन्मुक्तिका दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।


