काठमाडौं ,बैशाख १८
इलाम २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । राष्ट्रीय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बु योङहाङले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।
निर्वाचन आयोगका अनुसार कुल सदर मत ६८ हजार ४७२ मत सदरजना मध्ये मिलनले ५ हजार ५० मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि ६ हजार ८४८ मत ल्याउनुपर्ने हुन्थ्यो ।
इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाउदा रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका हुन् ।
जमानत जफत भए के हुन्छ ?
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ।’ तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख छ ।


