जनक्रान्तिको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा हुँदा देशको भौतिक पूर्वाधारमा पनि तीव्र विकास भएको छ । यस अवधिमा देशमा सडक, पुल, रेल, सुरुङमार्गसहित पूर्वाधार निर्माणमा द्रुत प्रगति हासिल भएको हो ।
गणतन्त्र स्थापनापछि सङ्घ, प्रदेश र स्थानीय सरकारको संयोजनका कारण सडक सञ्जालको विस्तारमा अपेक्षाकृत सफलता हासिल भएको छ । ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नो गाउँबाट एक घण्टा पैदल यात्रामा सडकमार्गसम्म पुग्न सक्ने भएका छन् । २०६४ मा पाँच हजार ४०२ किलोमिटर पक्की सडक रहेको थियो । सडक विभागका अनुसार अहिले सडक विस्तार १६ हजार ६१४ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सडक विभाग अन्तर्गत निर्माण भएका सडकको जम्मा लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ । जसमध्ये ५३.२ प्रतिशत सडक कालोपत्रे, २१.१ प्रतिशत खण्डस्मित (ग्राभेल) र २५.७ प्रतिशत कच्ची छ । अहिलेसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट निर्माण भएका कुल सडकको लम्बाइ एक लाख १० हजार किलोमिटर पुगेको छ ।
रेलदेखि सुरुङमार्गसम्म
पछिल्लो डेढ दशकमा राज्यका तर्फबाट भएका प्रयासबाटै जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा आएको छ । साथै चार वटा सुरुङ सडकमार्ग छिचोलिएका छन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग योजना अन्तर्गतको मुख्य र आपत्कालीन सुरुङमार्ग छिचोलिएको छ । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग अन्तर्गत लेनडाँडा र धेद्रे सुरुङमार्ग छिचोलिएको छ ।


