सरकारले सय दिने कार्ययोजना भित्र धरहरा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
सरकारको सय दिने कार्य योजनामा धरहरालाई सञ्चालन गर्ने भनेर राखिएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताएका छन् । ‘निर्माण सकिएको धरहराको टावर, वरिपरि घुम्ने ठाउँ र पार्किङको समस्या छैन,’ उनले भने, ‘केही फिनिसिङका काम गर्न बाँकी छ, असोज २० सम्म म्याद छ, विद्युत सम्बन्धि केही कामहरू गर्न बाँकी छन् ।’ सरकारको सय दिन कात्तिकमा पुग्नेछ । त्यतिबेला सबै काम नसकिए पनि मुख्य संरचना खुल्ला गर्ने गरी काम भइरहेको छ ।
धरहरालाई एकैचोटि पूर्ण सञ्चालनमा ल्याउन नसकिए पनि ट्रायलका रूपमा प्रतिघण्टा वा प्रतिदिन समय विभाजन गरी सञ्चालन गर्ने कि भन्नेबारे प्रारम्भिक छलफलका क्रममा रहेको गेलालले बताएका छन् ।
०७२ को भूकम्पले धरहरा भत्किएपछि यसको पुनर्निर्माण थालिएको थियो । निर्माण व्यवसायीका कारण पनि यसको निर्माण समयमै हुन नसकेको आयोजनाको भनाइ छ । सुरुमा कोभिड–१९ को प्रभावले गर्दा निर्माणमा ढिला भएको आयोजनाले जनाएको छ । निर्माणको काम ९६ प्रतिशतभन्दा बढी सकिसकेको जीआईईटीसी–रमण कन्स्ट्रक्सन जेभीका प्रोजेक्ट म्यानेजर दीपक सिंहले बताएका छन् ।
पहिला धरहराको मात्र साइट उपलब्ध थियो, पछि म्युजियम, गोश्वारा हुलाक, राष्ट्र बैंकको टक्सार विभाग भएको भवनलगायत क्षेत्रको साइट थपिँदा समयमै काम सक्न गाह्रो भएको निर्माण व्यवसायीको दाबी छ । धरहरामा दुईवटा लिफ्ट रहनेछन् । सिँढी पनि निर्माण गरिएको छ । सर्वसाधारणले लिफ्टमार्फत धरहरा चढ्न पाउनेछन् । अहिले निर्माण भएको धरहरा २२ तलाको छ । अन्डरग्राउन्ड २ र बाहिर २० तला रहेको आयोजनाले जनाएको छ ।
०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । तर निर्माण पूरा नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडिएको छ तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन । ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत थियो । अहिले प्रगति ९६ प्रतिशत पुगेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक कोषनाथ अधिकारीले बताएका छन् ।


