परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमुद अल बुसाइदीबिच मङ्गलबार यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरूबिच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।
मन्त्री डा. राणाले नेपाल र ओमानबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयमा कुरा गरेको र दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो ।
वार्तामा परराष्ट्र मन्त्री डा. राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गर्नुभएको थियो । पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरूलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उहाँले आग्रह गर्नुभयो । यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताउनुभएको थियो ।

त्यसैगरी, नेपालले नेपाली श्रमिकहरूको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो । ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबिचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो ।
सो वार्तापछि मन्त्री डा. राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै नेपाल र ओमानबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहहमा कुरा गरेको र दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो । उहाँले नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको जानकारी पनि मन्त्री डा राणाले दिनुभएको थियो ।


