गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताउन् भएको छ। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गर्नु भयो ।
भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुङ्गो लगाउन लेखकले समितिलाई आग्रह गर्नु भएको छ ।
भ्रष्टाचारका मुद्दामा जहिलेसुकै मुद्दा चलाउन सकिन्छ । यो सरकारको आग्रह छ, सरकार यो प्रावधान हटाउन तयार छ । जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन । समितिका सदस्यहरूको धारणा अनुसार सरकार चल्न तयार छ, उहाँले भन्नु भयो ।
यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो ।
सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसद्मा दर्ता गरेको थियो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको यो विधेयकमाथि दफावार छलफल भइरहेको छ ।


