प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा बुधबार आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको समुद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश-विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।” प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो ।

उद्घाटनसत्रका अवसरमा उक्त मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गर्नुभयो । सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलङ्का, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी हुनुहुन्छ । फेम्बोसाको ११ औँ सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअलरुपमा भएको थियो ।


