परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबारको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
समितिको बैठकमा सांसदहरूले सरकारले विभिन्न १७ देशका लागि गरेको राजदूत नियुक्ति समावेशी नभएको प्रश्न उठाएपछि मन्त्री राणाले आगामी दिनमा समावेशी बनाउने गरी सरकारले सिफारिस गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आफूले पनि हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महसुस गरेको बताउनुहुँदै उहाँले सरकारले गरेका कामहरूमा समितिले सुझाव दिएपछि नै सरकारले सच्चिने अवसर पाउने बताउनुभयो ।
मन्त्री राणाले राजदूत सिफारिसका लागि आफूले मुस्लिम र दलित समुदायको प्रतिनिधित्व खोजेको भए पनि सो अनुसार नपाएको जिकिर गर्नुभयो । उहाँले कुनै पनि ठाउँमा निर्णायक पदमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्ने बताउनुभयो ।


