सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौतापछि आज मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुहुँदै सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्यसम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारीसाथ पूरा गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ । त्यस्तै, सञ्चारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवम् मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।

नेपालको आफ्नै स्याटलाइट आवश्यक रहेको बताउनुहुँदै यसले मुलुकको विकास मापन गर्ने मापदण्डको रुपमा काम गर्ने उल्लेख गर्नुभयो । ‘डिजिटल नेपाल फ्रेमवर्क’को प्रभावकारी कार्यान्वयनका लागि पनि सञ्चारमन्त्री गुरुङले निर्देशन दिनुभयो । सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको एक सय ६५ दिनको समीक्षा गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले अरु मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट साबित हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सञ्चार सचिव राधिका अर्याल र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीबीच कार्यसम्पादन सम्झौता हुँदैछ ।
सञ्चारसचिव र मन्त्रालयको सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख अनिलकुमार दत्त, फ्रिक्वेन्सी व्यवस्थापन महाशाखा प्रमुख गौरव गिरी, प्रशासन महाशाखा प्रमुख बाबुराम भण्डारीबीच कार्यसम्पादन सम्झौता भएको छ ।
त्यस्तै, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरे, मुद्रण विभागका महानिर्देशक गोपाल कोइराला, सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।
त्यस्तै, रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक अमरध्वज लामा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाह, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्का, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डिसी (दिनेशराज दाहाल), नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)बीच पनि कार्यसम्पादन सम्झौता भएको छ । रासस


