कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहनुभएका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरूलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिनुभएको हो । उहाँले जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरूसँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताउनुभयो ।
कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।
छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल विभागका प्रमुख र आयोजना प्रमुखहरूलाई नतिजामुखी हुने गरी काममा लाग्न आग्रह गर्नुभयो ।
छलफलमा सहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी लिमिटेड, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापनलगायतका मन्त्रालय मातहतका विभागका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।


