स्थानीय तहका ४४ स्थानमा रिक्त पदका लागि मङ्सिर १६ गते सम्पन्न निर्वाचनको परिणामले राजनीतिक परिवर्तनका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेकै दललाई जनअनुमोदन प्राप्त भएको देखिएको छ ।
तीन पदमा निर्विरोध भएपछि ४१ पदका लागि भएको निर्वाचनमा राणाशासनदेखि पञ्चायत, शाहवंशीय निरङ्कुशतासम्म लडेका राजनीतिक दललाई नै नागरिकले स्थानीय सरकारको नेतृत्व सुम्पिएका हुन् । राजनीतिक विश्लेषक एवं अग्रज लेखकहरूले पनि राजनीतिक रूपान्तरणका लागि त्याग, बलिदान र सङ्घर्ष गरेका राजनीतिक दललाई जनमत प्राप्त भएको बताएका छन् । राणाशासन, पञ्चायत हुँदै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न जनआन्दोलन र सशस्त्र सङ्घर्ष गरेका दललाई खबरदारीसहित स्थानीय सरकारको सत्ता चलाउने जनादेश दिएको उनीहरूको भनाइ छ ।
नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिका प्रमुख र १६ वटा वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिका दुई पदमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका थिए । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का ११ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार आठ स्थानमा विजयी भए । त्यसै गरी मधेश आन्दोलनबाट उदाएको पूर्वमन्त्री उपेन्द्र यादवको दल जनता समाजवादी पार्टी नेपालले पनि सप्तरीका दुई वटा वडा जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीका एक–एक र स्वतन्त्र एक जना निर्वाचित हुनुभएको छ ।


