राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौंमा मङ्गलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्नुहुँदै उहाँले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ ।”
यसैवर्ष जुनमा जेनेभामा सम्पन्न ग्लोबल कोलीसन फर सोसीयल जस्टीससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका श्रमिकहरूलाई सम्बोधन गर्दा पनि आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उहाँले स्मरण गर्नुभयो ।


