सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय संसद्को हिउँदे अधिवेशन छिट्टै बोलाइने बताउनुभएको छ ।
पुस १६ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री र सभामुखबिच संसद् अधिवेशन बोलाउनेबारे छलफल भइरहेकाले केही दिनभित्रै बोलाइने बताउनुभएको हो ।
मन्त्री गुरुङले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल ‘मनी लाउन्डरिङ’ मा ‘ग्रे लिस्ट’ मा छ । ब्ल्याक लिस्टमा भएको भए सबै सकिन्थ्यो । ग्रे लिस्टमा भएकाले त्यसबाट माथि उठ्नु पर्छ । सम्पत्ति शुद्धीकरण अभियानलाई सफल बनाउनुपर्ने छ । राष्ट्रिय दिवस मनाएर अघि बढाउनु पर्छ ।” उहाँले सम्पत्ति शुद्धीकरणका बारेमा जनतामा समेत साक्षरता बढाउनैपर्ने भएकाले गलत तरिकाले कमाएको सम्पत्ति नियन्त्रण गर्न खोजिएको बताउनुभयो ।
मन्त्री गुरुङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतका सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्वस्वीकृति गर्ने, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ पुस २८ देखि माघ २ गतेसम्म आयोजना हुने कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।


