नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी भित्रको विवाद समाधानका लागि पार्टीले जिम्मेवारी लिने प्रस्ताव गर्नु भएको छ । धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा विवाद समाधानमा अपनत्व लिनेगरी प्रस्ताव ल्याउनु भएको हो ।
‘विद्यार्थी भित्रको समस्या समाधानमा पार्टीले वनरशिप लिनेगरी अध्यक्षले प्रस्ताव ल्याउनुभएको छ । ३२ वर्ष उमेरहद लागेका विद्यार्थी नेताहरूलाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिने । यसका लागि कार्यदल बनाउने । कार्यदलले उनीहरूको रुचि र क्षमताअनुसार जिम्मेवारी दिने प्रस्ताव ल्याउनुभएको छ’, केन्द्रीय सदस्य हिमाल शर्माले भन्नु भयो ।
यस्तै नेताहरूको कार्य विभाजनबारे प्रचण्डले बैठकमा खाका मात्र प्रस्तुत गरेपनि ठोस रूपमा आएको छैन । यद्यपि नेताहरूको जिम्मेवारीमा केही फेरबदल गर्न सकिने, निष्क्रिय नेतालाई हटाउने भनिएको छ । तर तोकिएर नै कसलाई हटाउने वा कुन जिम्मेवारी दिने भन्ने विषयमा प्रस्ताव नआएको शर्माले जानकारी दिएका छन् ।


