सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणको कार्यान्वयन प्रक्रियाअघि बढेसँगै अब सार्वजनिक सेवा प्रकाशन आरम्भ गरिने उद्घोष गर्नुभएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछिको सेवा पूर्वारम्भ कार्यक्रम समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले गोरखापत्र संस्थानलाई सार्वजनिक सेवा प्रकाशनमा लैजान सकिने बताउनुभएको हो ।
उहाँले जनआन्दोलन २०६२/६३ पछि बनेको आयोगले रेडियो नेपाल, नेपाल टेलिभिजनसहित गोरखापत्र संस्थानलाई पनि सार्वजनिक संस्था भनेको स्मरण गर्दै प्रसारण र प्रकाशन सेवाका रूपमा यिनीहरूलाई अघि बढाउन सुझाव दिएको प्रस्ट पार्नुभयो । उहाँले नेपाली पत्रकारिताको ऐतिहासिक संस्था गोरखापत्र संस्थान ऐन २०१९ पुरानो भएको टिप्पणी गर्दै यसलाई परिवर्तन गरेर सार्वजनिक सेवा प्रकाशन (पिएसपी) मोडालिटीमा लैजानुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्र संस्थान र रेडियो नेपाल, नेपाल टेलिभिजन सार्वजनिक संस्था भए पनि यी संस्था एउटै ऐनमा रहेर सञ्चालन गर्न नहुने सुझाव आयोगले दिएको छ । यिनीहरूका चरित्र र काम गर्ने क्षेत्र फरक छन् । एउटा ब्रोडकास्टिङ मिडिया भयो । अर्को प्रिन्टिङ मिडिया भयो । तर यस्तै मोडालिटीमा लानु पर्छ भन्ने आयोगको सुझाव हो । यस कुरामा पनि हामीलाई सबैले सहयोग गर्नु पर्छ ।” सञ्चारमन्त्री गुरुङले तत्कालीन राजा महेन्द्र शाहको शासनकालमा निर्माण भएको गोरखापत्र संस्थान ऐनलाई संशोधन एवं परिवर्तन गर्नका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले संशोधनका काम द्रुत गतिमा अघि बढाएर पुनर्संरचना आरम्भ गरिने घोषणा गर्नुभयो ।
तीन वटा विधेयक आउँदै
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र दूरसञ्चार विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मिडिया काउन्सिल र सार्वजनिक सेवा प्रसारण पनि स्वायत्त हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “भोलिका दिनमा गोरखापत्र पनि त्यही अवधारणामा लैजाने हो । सार्वजनिक सेवा प्रसारणको ठाउँमा सार्वजनिक सेवा प्रकाशन होला नि त !”


