सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका महासचिव सन्तोष पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनको ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘सरकारले गरेको गतिविधि र निर्णयहरु एकपछि अर्को जनआलोचनाको विषय बन्दै गइरहेको बेला हालै राष्ट्रिय सभामा दर्ता गरेको सो विधेयकमा आमजनताको जीवनको एक अभिन्न अंग बन्दै गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको छ’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकको दायरा समेत खुम्चिने गरी तथा संविधानको भावना र मर्म विपरीत हुने गरी प्रस्ताव गरिएको यो विधेयक तत्काल फिर्ता गरी पुनरावलोकन गर्न तथा जनतालाई भयको वातावरण सिर्जना नगर्न प्रेस सेन्टर नेपालले माग गरेको छ । माग पूरा नभएमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।



