नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्ध नभएको भए सय वर्षसम्म देश सामन्तवादको कब्जामा हुने बताउनु भयो।
सल्यानमा बिहीबार भएको कार्यक्रममा बोल्दै उहाँले माओवादी आन्दोलनकै कारण सामन्तवादको अन्त्य भएको दाबी गर्नु भयो ।
‘जनयुद्ध कुनै पार्टीविरुद्ध गरेको विद्रोह होइन । सामन्तवादको विरुद्ध गरेको मुक्तियात्रा थियो । जनयुद्ध सिङ्गो नेपाली जनताको पर्व हो । कसैले बिर्सन नसक्ने ढुंगामा लेखिएको अक्षरभन्दा पनि गहिरो हो । जनयुद्धमा ल्याएको परिवर्तनलाई सबैले गर्व गर्न म आग्रह गर्न चाहन्छु’, उनले भने, ‘जनयुद्ध नभएको भए देश आज पनि सामन्तवादको कब्जामा हुन्थ्यो । सय वर्ष सामन्तवादको पाउमुनी हुन्थ्यो । माओवादी आन्दोलनले सय वर्ष अगाडि परिवर्तन आएको छ । परिवर्तनको उपभोग माओवादीले मात्र गरेका छैन । सबैले उपभोग गरेका छन् । दलित, महिला, मधेसी, उत्पीडित जनताले अधिकार पाएका छन् ।’
जनयुद्धलाई गलत ढङ्गले व्याख्या गरेकोमा आपत्ति जनाउँदै विप्लवले सामन्तवादको अन्त्य र गणतन्त्र स्थापना माओवादीले नै गरेको दाबी गर्नु भयो ।



