सोमबारदेखि काठमाडौंको दशरथ रंगशालमा चार देश सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप सुरु हुँदैछ । जसमा घरेलु टोली नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर पहिलो पटक महिला फुटबलमा यो किसिमको प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपालमा दक्षिण एसिया बाहिरबाट टिम आएर महिला फुटबलको यो स्तरको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो । यसअघि नेपालमा साफ वुमन्स च्याम्पियनसिप तीनपटक आयोजना भएको थियो भने ओलम्पिक क्वालिफायरमा भियतनाम नेपाल आएर खेलेको थियो ।
पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना हुनु नेपाली महिला फुटबलको लागि राम्रो संकेत हो । पहिलो कुरा नेपाल भन्दा माथिको वरियताको टिम आउँदैछ भने अर्को तीनवटै टिम दक्षिण एसिया बाहिरबाट आउँदैछ । त्यसमा पनि आफ्नो देश छाडेर विदेशमा लिग खेलिरहेका खेलाडीहरु सबै टिममा छन् । अष्ट्रेलिया देखि अमेरिकासम्म, फ्रान्स देखि डेनमार्कसम्मको लिग खेल्ने खेलाडीहरु अब केही दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतिस्पर्धा उत्रनेछन् ।
महिला फुटबलमा त्यो स्तरको खेलाडीहरु आफ्नै आँखा अगाडि हेर्न पाउनु नेपाली दर्शकका लागि पनि राम्रो अवसर हुनेछ भने खेलाडीहरु स्वयंका लागि पनि यो अन्तर्राष्ट्रिय फुटबलबारे बुझ्ने राम्रो अवसर हुनेछ । यसका लागि नेपालका कप्तान एन्जिला तुम्बापो सुब्बाले एन्फालाई धन्यवाद पनि दिइन् । ‘हाम्रो लागि यो ठूलो अवसर हो । साफलगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं’ उनले आइतबार प्रि म्याच कन्फ्रेन्समा भनिन्, ‘हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि सबै तयारी भइसकेको र राम्रो प्रदर्शन गर्ने बताए । तामाङले लगातार तेस्रो प्रतियोगितामा नेपालको महिला टिमको प्रशिक्षण सम्हालेका छन् । यसअघि गत वर्ष फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिप र अक्टोबरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
यस पटक नेपाललाई घरेलु मैदानमा राम्रो खेल्दै उपाधि जित्ने अवसर समेत छ । त्यसका लागि नेपाली टिममा क्षमता रहेको पनि प्रशिक्षक तामाङले दाबी गरे । उनले यसअघि समस्याको रुपमा रहेको डिफेन्स लाइन मजबुत पार्दै खेल्ने बताए ।


