काठमाडौं , फागुन २५
चितवनमा फागुन २७ गते हुने भनिएको ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय राजनितिक परिस्थितीमा आएको फेरबदलका कारण शिर्ष नेताहरु काठमाडौं केन्द्रित हुनुपर्ने भएकाले अभियान स्थगित भएको नेकपा माओवादी केन्द्र चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.सी) ले बताए ।चितवनमा फागुन २७ गते हुने भनिएको सो कार्यक्रमको तयारी समेत पुरा भईसकेको थियो ।
राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको माओवादी केन्द्रले समेत जनाएको छ ।
यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो ।यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।


