काठमाडौं , भाद्र २४
जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न विषम परिस्थितीलाई कारण देखाउँदै फिल्म ‘अभिमन्यु’ले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको घोषणा गरेको छ ।निर्माता कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्ति जारी गर्दै २७ भदौमा फिल्म प्रदर्शनमा नआउने जनाएको हो ।
निर्माता विनोद पौडेलले भनेका छन्, ‘यस दुःखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी चलचित्र पूर्वनिर्धारित मितिमा ल्याउन नसक्ने निर्णय गरेका छौं ।’
नयाँ प्रदर्शन मिति चाँडै तय गरिने जनाइएको छ । निर्माताले जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति शोक समवेदना जनाउँदै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् ।मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।


