काठमाडौँ, मङ्सिर ०१
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् ।सोमबार सम्पन्न निर्वाचनमा सुब्बाले अध्यक्षका अर्का प्रत्यासी सुनिलकुमार थापालाई पराजित गरे । सुब्बाले १५३ मत पाउँदा थापाले १२७ मत पाए ।
त्यस्तै, महासचिवमा कलाकार तथा ‘पशुपति प्रसाद’का निर्माता खगेन्द्र लामिछाने विजयी भएका छन् । लामिछानेले १५२ मत पाउँदा प्रतिद्वन्द्वी किरण नेपालीले १२५ मत पाए ।

सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । उनले सोही पदका अर्का प्रत्यासी किसान पोखरेललाई हराए ।गिरीले १५९ मत पाउँदा पोखरेलले ११२ मत पाए ।सोमबार राजधानीमा आयोजित संघको १९ औं वार्षिक साधारण सभाको क्रममा नयाँ कार्यसमितिको चुनाव आयोजना गरिएको थियो ।

उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यमा सर्वसम्मत
उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।९ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका छन् ।
निर्विरोध चुनिने सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् ।


