काठमाडौँ, मंसिर १२
मंसिर २६ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। उक्त क्षेत्रका लागि फिल्मको प्रदर्शन अधिकार मि. श्रेष्ठ प्रोपाइत्री लिमिटेड र श्रेष्ठ फ्यासिलिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेका हुन्। कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठका अनुसार दर्शकको उच्च माग र फिल्ममा समेटिएको सामाजिक सन्देशकै कारण फिल्मलाई अष्ट्रेलिया–न्युजल्याण्ड बजारका लागि लिइएको हो।
यसअघि अष्ट्रेलियाका विभिन्न सहरमा फिल्मका विशेष शो सम्पन्न भएका थिए। शोमा सहभागी अधिकांश दर्शकले फिल्मको कथा, निर्देशन तथा निर्माण पक्षको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया जनाएका थिए।

शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा देखिन्छन्। फिल्ममा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा रहेका छन्।
हाल निर्देशक बस्नेत फिल्मको प्रमोसनका लागि अष्ट्रेलियामै छन् र त्यहीँबाट नै प्रदर्शन तयारीमा जुटिरहेका छन्।फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल लगानीकर्ता हुन्। फिल्ममा बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन तथा सौरभ सायमी र सौरभ लामाको छायांकन रहेको छ।
आर आर फिल्म्सले वितरण जिम्मेवारी लिएको फिल्ममा मानस राजको संगीत, तथा सनुप पौडेल र नीतु पुनको आवाज समावेश गरिएको छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको ‘पीआर’का नृत्य निर्देशन रामजी लामिछानेले गरेका छन्।


