काठमाडौं, मंसिर १५
नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को छायांकन औपचारिक रूपमा म्याग्दीबाट सुरु भएको छ। दुई हप्तासम्म चलेको वर्कसप सम्पन्न गरेपछि टिम छायांकनतर्फ लागेको निर्माण पक्षले जनाएको छ। करिब डेढ महिनाको सेड्युलमा फिल्म छायांकन पूरा गर्ने तयारी छ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी मुख्य भूमिकामा छन्। फिल्मलाई जोन योञ्जन ले निर्देशन गरिरहेका छन् भने कथा पनि उनीकै हो।
निर्माता विनोद पौडेल का अनुसार ‘रोल नं. १’ विद्यार्थीसँग जोडिएको संवेदनशील विषय उठाउने छ—समाजले सिर्जना गरेको प्रतिस्पर्धा, प्रतिष्ठा र ‘फर्स्ट’ बन्नैपर्ने दबाबले विद्यार्थीको मानसिकता कसरी प्रभावित हुन्छ भन्ने कथा फिल्मले उजागर गर्नेछ।“सबैलाई जित्नैपर्छ, नजिते मान–इज्जत नै हुँदैन भन्ने गलत धारणा र ‘फर्स्ट’ मात्र विद्वान, बाकीजन मुर्ख जस्ता सोचलाई” फिल्मले प्रश्न गर्ने बताइएको छ।

यसअघि सार्वजनिक फर्स्टलुकमा कक्षाकोठाभित्र एक बालकले हात उठाएर उपस्थिति जनाइरहेको दृश्य देखाइएको थियो, जसले फिल्मको विषयवस्तु अध्ययन–दबाब र विद्यार्थी जीवनको वास्तविकतासँग जोडिएको संकेत गर्छ।
फिल्ममा महेश दवाडी का पटकथा तथा संवाद रहनेछन् भने प्रशान्त शिवाकोटी को संगीत रहनेछ।सेभेन सिज सिनेमाज को ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन्।
टेक्निकल टिममा शिवराम श्रेष्ठ डीओपी, फिरोड खड्का चिफ एडी, कला संग्रौला प्रोडक्सन डिजाइनर, मनोज जोशी प्रोडक्सन हेड तथा मदन घिमिरे सम्पादकको रूपमा छन्।यसैबीच निर्माता पौडेलकै अर्को निर्माण ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।


