काठमाडौं, मंसिर १७
नेपाल प्रिमियर लिग (NPL) मा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
लुम्बिनीका लागि डि आर्की सर्टले उत्कृष्ट प्रदर्शन गर्दै ५७ रन बनाए।निरोसन डिकवेल्ले अविजित रहँदै २९ रन जोड्दै जितमा महत्वपूर्ण भूमिका खेले।
त्यसैगरी सन्दीप जोराले २४ रन, दीलिप नाथले १६ रन बनाए।कप्तान रोहित पौडेल शून्यमा आउट भए भने सुमित महर्जन १० रनमा पभेलियन फर्किए।विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले समान २/२ विकेट लिँदा बसिर अहमदले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले ८ विकेट गुमाएर १४४ रन मात्र जोड्यो।विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए।
त्यसपछि बसिर अहमद २८, साम हेजलेट २७, फाफ डु प्लेसिस १२, प्रतिश जिसी ११, नारायण जोशी ५, सहिल पटेल ३, जर्ज मुन्से शून्यमा आउट भए।अन्तिम ओभरमा मैदान आएका सन्दीप लामिछानेले अन्तिम बलमा छक्का प्रहार गर्दै इनिङ्स समाप्त गरे। मार्चेन्ट डे लेङे १० रनमा अविजित रहे।
लुम्बिनीका बलरमध्ये सेर मल्लले सर्वाधिक ३ विकेट लिए।जेजे स्मित, अभिशेष गौतम र रुबेन ट्रुम्पेल्मनले समान १–१ विकेट लिए।यो जितसँगै लुम्बिनी लायन्सले तीन खेलमा तीन जित हासिल गर्दै प्लेअफको सम्भावना जीवित राखेको छ।


