काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकहरूले उत्कृष्ट रिभ्यू दिइरहेका छन्। नेपाली समाजलाई नजिकबाट चित्रण गरेको, विशेषतः तराई–मधेसमा प्रचलित दाइजो प्रथाले सिर्जना गर्ने त्रासदीपूर्ण अवस्था प्रभावकारी रूपमा देखाइएकै कारण दर्शकले फिल्मलाई वास्तविकतासँग जोडिएको अनुभूति गरेका छन्।
दर्शकका अनुसार दाइजो प्रथाले जन्माउने समस्यालाई गहिराइका साथ प्रस्तुत गर्नु चलचित्रको ठूलो सकारात्मक पक्ष हो। समाजमा भइरहेका यथार्थ घटनालाई कथामा ढालिएको देखिँदा फिल्म रिलेटेबल भएको प्रतिक्रिया छ।
फिल्म हेरेर निस्केका एक दर्शकले भने,
“चलचित्रकी नायिकाको यात्रा आजको नेपाली समाजकै प्रतिबिम्ब जस्तो लाग्यो। महिलाहरूले लिन थालेको सचेत कदम र उनीहरूले भोग्नु परेको वास्तविकता कथामा प्रष्ट देखिन्थ्यो।”
चलचित्रले ‘मुटुमै हान्यो’ भन्दै धेरैले आफ्नो साथी–भाइ तथा आफन्तलाई पनि फिल्म हेर्न सिफारिस गरेका छन्।दर्शकको भनाइमा, “सबैले हेर्नुपर्ने फिल्म हो। हाम्रै समाजको कथा, सबैले कुनै न कुनै रूपमा रिलेट हुने विषयवस्तु छ।”
फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्।अन्य कलाकारमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेल लगायत छन् भने अभिनेत्री रेखा थापा अतिथि भूमिकामा देखिएकी छन्।
फिल्मको निर्देशन सुशान्त गौतमले गरेका हुन्।क्रिएटिभ निर्देशक मदन थापा, कथा मुकेश खनाल,निर्माता विनोद पौडेल र गुञ्जन गिरी,सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ,कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
फिल्मका डिओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज र सम्पादन मदन घिमिरेले सम्हालेका छन्।दर्शकको बलियो समर्थन र सकारात्मक समीक्षासँगै ‘अभिमन्यु : च्याप्टर १’ लाई हिट बन्ने सम्भावना थपिएको देखिन्छ।


