काठमाडौँ , मंसिर १९ । निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’ अब हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्माण पक्षका अनुसार दुवै मुलुकका लागि प्रदर्शन अधिकार बिक्री भइसकेका छन्।
निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका हुन्। त्यस्तै पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिएका छन्।
यसअघि जापान, अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शन सुनिश्चित भइसकेको ‘पीआर’ अब हङकङ र पोर्चुगलमा पनि सोल्ड आउट भएको निर्देशक बस्नेतले बताए। उनले थपे, “अन्य धेरै देशसँग पनि प्रदर्शनका लागि सकारात्मक कुराकानी भइरहेको छ।”
चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र **सन्तोष तिवारी (क्यारियर्स गेटवे)**का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै उच्च छ, जसले चलचित्रप्रतिको अन्तर्राष्ट्रिय आकर्षण बढाइरहेको छ।
यही मंसिर २६ गतेबाट नेपालमा रिलिज हुने फिल्मले एक महिनाअघि अष्ट्रेलियाका विभिन्न शहरमा विशेष शो गरेको थियो। विशेष शो हेरेका अधिकांश दर्शकले फिल्म ‘उत्कृष्ट बनेको’ प्रतिक्रिया दिएका थिए।
फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्।विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल र दिक्पाल कार्कीलाई देख्न सकिन्छ।
फिल्मको कथा गणेश बुढाथोकीले लेखेका हुन्। सम्पादन बन्दे प्रसादको छ, ट्रेलर पनि उनैले काटेका हुन्। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्।
कोरियोग्राफी रामजी लामिछाने, गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर रहेको छ।सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको वितरण आर आर फिल्म्सले गर्दैछ।


