काठमाडौं, मंसिर २२
निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रे–पनौतीबाट सुपरहिट चलचित्र ‘झिँगेदाउ’ को सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार शुभमुहूर्त सहित झन्डै साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस चलचित्रको औपचारिक सुटिङ सुरु गरिएको निर्देशक तथा निर्माता देउजाले जानकारी दिए।
मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट आरम्भ भएको छायांकन करिब ६० दिनको सेड्युलमा पूरा हुने छ। फिल्मका लागि पनौतीमा भव्य सेट निर्माण गरिएको छ। पनौतीपछि चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङलगायत स्थानमा गरिने बताइएको छ। फिल्म आगामी दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ। कथाले ‘झिँगेदाउ’ सकिएको अन्तिम दृश्यबाट नै निरन्तरता पाउनेछ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भइरहेको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक देउजाकै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। फिल्ममा रोशन श्रेष्ठ द्धन्द्व निर्देशनमा छन् भने रामजी लामिछाने कोरियोग्राफर र अर्जुन पोखरेल संगीतकारका रूपमा छन्। मित्र डी गुरुङ सम्पादक, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा चन्द्र भण्डारी मुख्य सहायक निर्देशक हुन्। त्यस्तै पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशकका रूपमा छन्।
चलचित्रको छायांकन बिष्णु घिमिरे ‘कल्पित’ले गरिरहेका छन्। फिल्मका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।



