अण्डाको मूल्य वृद्धि भएको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो।
लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा.अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य रु १९.१२ पर्न आउँछ । विगतमा लागत मूल्य रु १६.५६ रहेको थियो । तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए।
यसअघि यही मंसिर पहिलो साता व्यवसायीले अण्डाको मूल्यमा भारी वृद्धि गरेका थिए। किसानको फार्म मूल्यलाई आधार बनाएर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय २०, ठूलो अण्डाको पाँच सय पाँच र मिडिएमको रु चार सय ९० कायम गरेको थियो।
डा. दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा रु १५० का दरले रु १५ लाख, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी रु तीन करोड ४८ लाख ८८ हजार ८०० खर्च निकालिएको छ। यसमा सुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो रु ६८ राखिएको छ।
नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत रु १९.१२ कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।


