काठमाडौं , मङ्सिर २९
ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन्। चलचित्रको टाइटल सार्वजनिक भए पनि यसको विषयवस्तु र कलाकारबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी खुलाएको छैन।
चलचित्रको छायांकन जेठ महिनामा सुरु गर्ने तयारी रहेको बताइए पनि, टाइटलका आधारमा अनुमान गरिँदै आएको कथाबारे निर्देशक पौडेलले स्पष्ट धारणा राखेका छन्। ‘सिन्दुरे जात्रा’ शीर्षकले नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रामाथि आधारित चलचित्र हो भन्ने अनुमानलाई खारेज गर्दै उनले भने, “टाइटलले जे संकेत गरेजस्तो देखिए पनि नुवाकोटको सिन्दुरे जात्राकै कथा भन्ने सिनेमा होइन। त्यसरी बुझ्नु पूर्णतया गलत हो।”
टाइटल अनाउन्समेन्ट टिजरमा सिन्दुरे जात्रासँग सम्बन्धित संकेत देखिए पनि कथानक त्यसमै केन्द्रित नरहेको निर्देशकको दाबी छ। “सिन्दुरे जात्रासँग कतै न कतै सिनेमा जोडिन सक्छ, तर यो सिन्दुरे जात्राको कथा भन्ने चलचित्र भने होइन,” उनले स्पष्ट पारे।
सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथावस्तु भने स्वयं निर्देशक सरोज पौडेलकै रहेको छ। सारंगी फिल्म्सको प्रस्तुति रहने सिनेमाका निर्माता प्रभाकर श्रेष्ठ हुन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।
चलचित्रको रिलिज मिति भने हालसम्म तय नभएको निर्देशक पौडेलले बताएका छन्। केही समयपछि कथावस्तु र कलाकारबारे औपचारिक जानकारी सार्वजनिक गरिने उनको भनाइ छ।उल्लेखनीय छ, केही महिनाअघि निर्देशक पौडेलकै लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो।


