काठमाडौं , पौष ०४ । नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा निर्माण भएको यो चलचित्रले सामाजिक यथार्थ, संघर्ष र आशाको कथालाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
चलचित्रले जीवनका कठिन मोडहरू पार गरेपछि देखिने आशा र सम्भावनाको कथा भन्ने संकेत गर्छ। ‘झरी पछिको इन्द्रेणी’ शीर्षकले नै पीडा, संघर्षपछि आउने उज्यालो भविष्यको सन्देश बोकेको देखिन्छ।
यसअघि सार्वजनिक ट्रेलर र प्रचार सामग्रीले दर्शकको ध्यान तानेको चलचित्रमा कलाकारहरूको जीवन्त अभिनय र संवेदनशील कथावस्तु प्रस्तुत गरिएको निर्माण टिमको दाबी छ। सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएकाले परिवारसहित हेर्न मिल्ने सिनेमा बनेको बताइन्छ।
निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का लागि यो चलचित्र डेव्यु निर्देशन हो। लामो समयदेखि अभिनयमार्फत दर्शकको मन जित्दै आएका पाँडेले निर्देशनमा पनि फरक स्वाद दिने प्रयास गरेका छन्।
चलचित्रमा गणेश उप्रेती , रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । चलचित्रमा छायांकार बुद्ध थापाको रहेको छ । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।
आजबाट नियमित शोसहित प्रदर्शनमा आएको ‘झरी पछिको इन्द्रेणी’ले दर्शकबाट कस्तो प्रतिक्रिया पाउने भन्नेमा चासो बढेको छ।


