काठमाडौं , पौष ०९
लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली चलचित्र ‘जिरो डिग्री’ मार्फत निर्देशक राजन भुसाल ले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस चलचित्रका कथाकार समेत हुन्। चलचित्रको निर्देशन भने सजन काफ्ले र आकास बराल ले संयुक्त रूपमा सम्हाल्दैछन्।
भुसाल यसअघि आफूले निर्देशन गरेको चलचित्र ‘एक्टर: टेक वन’ मार्फत दर्शकमाझ परिचित भइसकेका छन्। निर्देशक जोडी काफ्ले र बरालले यसअघि निर्देशन गरेको ‘बेहुली फ्रम मेघौली’ ले राम्रो चर्चा कमाएको थियो।
मेघौली फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’ को पटकथा तथा संवाद निर्देशकद्वय काफ्ले र बरालले नै तयार पारेका हुन्। चलचित्रको कथा सडक नपुगेको दुर्गम गाउँ वरिपरि घुम्छ। आमाबुवाको निधनपछि विदेशमा रहेका छोराछोरी गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ भित्र्याउँदा सिर्जना हुने असहज र अप्रत्याशित घटनाहरू कथाको केन्द्रमा छन्। निर्देशकका अनुसार चलचित्र साधारण यात्राको कथा नभई डार्क कमेडी शैलीमा समाजका संवेदनशील यथार्थहरू प्रस्तुत गर्ने प्रयास हो।
यसअघि सार्वजनिक पोस्टरमा कलाकारको अनुहारभन्दा कथाको प्रतीक बनेको डीप फ्रिज लाई प्रमुख रूपमा देखाइएपछि चलचित्रले फरक पहिचान बनाएको थियो।
चलचित्रका कार्यकारी निर्माता मोती कार्की हुन्। ‘जिरो डिग्री’ हाल छायांकन तयारी चरणमा रहेको छ र निर्माण टोली विभिन्न स्थानमा पुगेर लोकेसन तय गर्ने काममा जुटिरहेको छ। चलचित्रलाई आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको छ भने यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसन ले गर्नेछ।
चलचित्रको छायांकन निशाल पौडेल ले गर्नेछन्। संगीततर्फ अङ्कित बाबु अधिकारी को योगदान रहनेछ भने गीत लेखनमा ‘ऊनको स्वीटर’ को चर्चित गीत ‘काफ्ले’ का सर्जक युवराज काफ्ले आबद्ध हुनेछन्।


