काठमाडौं , पौष ०९
निर्देशक रोशन दास को निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक यथार्थलाई कथावस्तु बनाएको यस चलचित्रको पोस्टरले कथाको गम्भीरता, भावनात्मकता र विद्रोही चेतनाको संकेत दिएको छ।
सार्वजनिक पोस्टरमा आगो, पीडा र प्रेम लाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथागत गहिराइलाई उजागर गर्छ। पोस्टरको केन्द्रमा मुख्य कलाकार सम्राट दास र सुप्रज्ञा शर्मा सशक्त रूपमा देखिएका छन्। उनीहरूको हाउभाउ र भावनाले संघर्ष, संवेदना र प्रतिरोधको भावलाई एकैसाथ बोकेको देखिन्छ।
पोस्टरमा सम्राट दास फरक अवतारमा प्रस्तुत भएका छन्। उनको आँखाको भाव र क्यारेक्टर लुकले पात्रभित्रको आन्तरिक द्वन्द्व, जिम्मेवारी र आक्रोशलाई स्पष्ट पार्छ। निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु चलचित्र भए पनि यो भूमिका उनको करियरको महत्वपूर्ण मोड बन्ने अपेक्षा गरिएको छ।
मुख्य अभिनेत्री सुप्रज्ञा शर्माको भावनात्मक उपस्थिति पनि पोस्टरमा विशेष ध्यान खिच्ने खालको छ। उनको अनुहारमा देखिएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई अझ सशक्त बनाएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा सम्राट दास र सुप्रज्ञा शर्मासँगै बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह र रमेश बुढाथोकी लगायत कलाकारको अभिनय रहेको छ।
‘प्रतिवैरम’ का सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। चलचित्र रेज इन्टरटेनमेन्ट ले किङ वाईटी सँगको सहकार्यमा निर्माण गरेको हो। यसका प्रोडक्सन म्यानेजर कमल सुनार हुन् भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतो ले सम्हालेका छन्। चलचित्रको सम्पादन कविर वोड ले गरेका हुन्।
निर्देशक रोशन दासका अनुसार चलचित्र मधेसका वास्तविक कथा, सामाजिक–राजनीतिक समस्या र सांस्कृतिक सौन्दर्य लाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको हो। चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराई ले लेखेका हुन्।
निर्माण पक्षले चलचित्रलाई २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण भएको ‘प्रतिवैरम’ बहुभाषिक चलचित्र हो। चलचित्रको डिजिटल अधिकार युना डिजिटल ले खरिद गरेको छ।


