काठमाडौं , पौष १३ — माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मिरमिरे’ मार्फत अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी पुनः दोहोरिने भएको छ। यसअघि दुवै कलाकार चलचित्र ‘कार्साङ्’ मा एकसाथ देखिएका थिए।
संयोग के छ भने ‘कार्साङ्’ निर्देशन गरेका यम शेर्पा ले नै ‘मिरमिरे’ को निर्देशन गरेका हुन्। यसरी निर्देशक र मुख्य कलाकारको त्रिकोणात्मक सहकार्य दोस्रो पटक दोहोरिएको हो।
किन फेरि दयाहाङ र सिर्जनालाई नै रोजियो भन्ने प्रश्नमा निर्देशक यम शेर्पा भन्छन्,“एकपटक सँगै काम गरिसकेपछि अर्को पटक काम गर्न सहज हुन्छ। कलाकारको काम गर्ने शैली, आनीबानी सबै बुझिसकेको हुन्छ। दयाहाङ राई दर्शकले अत्यन्त रुचाएको नायक हुनुहुन्छ भने सिर्जनासँग पहिलो फिल्ममै राम्रो समझदारी बनेको थियो।”
उनका अनुसार ‘मिरमिरे’ को कथाले पनि दयाहाङ र सिर्जनाजस्तै पात्र मागेकाले स्क्रिप्ट लेख्ने चरणदेखि नै दुवै कलाकार उनको दिमागमा थिए। कथाको माग र अघिल्लो सहकार्यबाट बनेको सहजताका कारण यही जोडी दोहोर्याइएको निर्देशक शेर्पाले स्पष्ट पारे।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ मा दयाहाङ र सिर्जनासँगै प्रकाश सपूत पनि मुख्य भूमिकामा छन्। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यस्तै, शाइसा गौचन ले दयाहाङकी छोरीको भूमिका निर्वाह गरेकी छन्।
यसअघि सार्वजनिक गरिएको टिजरमा छोरीका लागि बुवाले गर्ने संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। आमाले घर छोडेपछि छोरी र बुवामात्रै रहने कथाले बुवाको जिम्मेवारी, त्याग र छोरीप्रतिको माया देखाउँछ। छोरीको स्याहार, घरधन्दा, स्कुल र जागिरलाई एक्लै सम्हाल्ने बुवाको कथा दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचनसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय रहेको छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्मातामा चलचित्र वितरक तथा आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल रहेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।चलचित्र ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स ले लिएको छ।


