काठमाडौँ । विपना थापा र पल शाहको मुख्य भूमिकामा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ मा नेवारी भाषाको गीत समावेश गरिने भएको छ। फिल्ममा रहेको चर्चित गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भर्सनमा पनि रेकर्ड गरिएको हो।
रिलिजसँगै चर्चा बटुलिरहेको यस गीतलाई निर्देशक चन्द्र पन्त ले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा रेकर्ड गराएका हुन्। गीतको नेवारी संस्करण गायक यमन श्रेष्ठ ले गाएका छन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा तयार गरिएको यस गीतलाई नेवारी भाषामा गाउन पाउँदा आफू अत्यन्तै खुसी भएको यमनले बताए।
‘यो गीत म युट्युबमा नियमित रूपमा सुनिरहेको थिएँ। निकै भावुक र चर्चित गीत हो,’ यमनले भने, ‘आ बाट आमाको टिमले यो गीतलाई नेवारी भाषामा पनि गाउन प्रस्ताव गर्नुभयो। शब्द आफै मिलाउन भनिएपछि मैले बुबा मदनकृष्ण श्रेष्ठ लाई नेवारी भाषामा अनुवाद गरिदिन आग्रह गरेँ। बुबाले नै नेवारी शब्द तयार गर्नुभएको हो।’
स्टुडियोमा गीत रेकर्ड गर्दा आफू निकै भावुक बनेको अनुभव यमनले सुनाए। ‘फिल्ममा दृश्य निकै रोएको देखिन्छ। नेवारीमा गाउँदा आफैँ पनि रोइएछ,’ उनले भावुक हुँदै भने।
नेपाली भर्सनमा यो गीत गायक रवि ओड ले गाएका छन्। सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बाबुआमाको भावनालाई केन्द्रमा राखेर गीत र फिल्मको कथा बुनिएको छ।
निर्देशक पन्तका अनुसार फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत समावेश गर्नु प्रचारशैलीलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास हो। नेवारी गीत मन पराउने दर्शक–स्रोताका लागि यो राम्रो माध्यम बन्ने उनको विश्वास छ। अन्य भाषामा पनि यो गीत रेकर्ड गर्नेबारे छलफल भइरहेको उनले बताए।
आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा बनेको फिल्ममा विपना थापा र पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को संगीत रहेको छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलीप ओखेडा ले कोरियोग्राफी गरेका छन्। नवराज उप्रेतीको छायांकन रहेको फिल्मको संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले संयुक्त रूपमा लेखेका हुन्।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। सम्पादन मिलन श्रेष्ठ ले गरेका छन् भने ट्रेलर र टिजर साहिल खान ले निर्माण गरेका हुन्।
आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्स सँग छ भने डिजिटल अधिकार ओएसआर डिजिटल को हातमा रहेको छ।



