काठमाडौं । अभिनेता दयाहाङ राई ले चलचित्र ‘मिरमिरे’ बुवा–छोरीको सम्बन्ध मात्र नभई सन्तानप्रति अभिभावकले देखेको भविष्य र भोगेको भावनात्मक यात्राको कथा बोकेको सिनेमा भएको बताएका छन्।
छोरीसँग आफ्ना पीडा र मुख्य कुराहरू लुकाएर बुवाले छोरीका अगाडि देखाउने बनावटी खुसी नै चलचित्र ‘मिरमिरे’को केन्द्रबिन्दु भएको दयाहाङको भनाइ छ। यही भावनालाई भित्रैबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरामा आफूले अभिनय केन्द्रित गरेको उनले बताए।
झट्ट हेर्दा बाबु–छोरीको साधारण कथा जस्तो देखिए पनि गहिरिएर हेर्दा चलचित्रमा धेरै तह र सन्देश रहेको दयाहाङ बताउँछन्।
“झट्ट हेर्दा केही नदेखिने तर अलिकति सोचेर हेर्दा धेरै कुरा देखिने कथा भएकाले यस्ता कथामा काम गर्न मलाई रुचि लाग्छ,” दयाहाङ भन्छन्, “कतिसम्म दुःखी वा खुसी हुने भन्नेभन्दा पनि यो प्यासनका साथ हेर्नुपर्ने चलचित्र हो।”उनका अनुसार ‘मिरमिरे’ हेरेपछि एकपछि अर्को कुरा सोच्न बाध्य बनाउने खालको सिनेमा हो।
यम शेर्पा को लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्स को प्रस्तुतिमा निर्माण भएको यस चलचित्रमा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल को अभिनय रहेको छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन्। कार्यकारी निर्माता आरआर फिल्म्स का सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।
यस चलचित्रमा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।चलचित्र ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठ को आरआर फिल्म्स ले लिएको छ।


