काठमाडौं । केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकका रूपमा नदेखिएका अभिनेता आकाश श्रेष्ठ अब फिल्ममा पुनरागमन गर्ने भएका छन् । बीचको समयमा केही चलचित्रमा केमियो भूमिकामा देखिएका श्रेष्ठ अब पूर्ण रूपमा मुख्य नायकका रूपमा दर्शकमाझ फर्किने पक्का भएको हो ।
थुप्रै म्युजिक भिडियोमा सक्रिय रहे पनि फिल्मका लागि राम्रो कथाको प्रतीक्षामा रहेको बताउँदै आएका आकाशको कमब्याक निर्देशक रुपेश तामाङको नयाँ अनटाइटल एक्सन प्रोजेक्टबाट हुन लागेको हो । तामाङले यसअघि ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन चलचित्र निर्देशन गरेका छन् ।
माघे संक्रान्तीको अवसर पारेर आज आकाश श्रेष्ठ र निर्माणपक्षबीच औपचारिक सम्झौता भएको छ । निर्माण टिमका अनुसार चलचित्र पूर्ण रूपमा एक्सन जनरामा निर्माण गरिनेछ र आकाशलाई यसअघिसम्म नदेखिएको नयाँ अवतारमा प्रस्तुत गरिनेछ ।
यस प्रोजेक्टलाई लिएर आकाश पनि निकै उत्साहित देखिएका छन् । उनले दर्शकको लामो प्रतिक्षालाई विशेष बनाउने प्रयास हुने बताए ।चलचित्रको कथा सुमन गजमेरले तयार पारेका हुन् । निर्देशक तामाङका अनुसार फिल्मको छायांकन फागुनको अन्त्यतिरबाट सुरु गर्ने तयारी गरिएको छ ।
चलचित्रको नाम, अन्य कलाकार तथा प्राविधिक टिमको विवरण भने क्रमशः सार्वजनिक गरिँदै जाने निर्माणपक्षले जनाएको छ । यो चलचित्र जुना फिल्म्सको ब्यानरमा निर्माण हुनेछ ।



