काठमाडौं । यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’ को टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिम कलाकारसहित पूर्वी नेपालको झापा पुगेको छ र त्यहाँ विभिन्न कार्यक्रममार्फत फिल्मको व्यापक प्रचार भइरहेको छ।
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा झापाको कन्काई माई नदीमा लाग्ने माइमेलामा पनि फिल्मको प्रचार गरिएको छ। लाखौँ दर्शकको उपस्थिति रहने उक्त मेलामा कलाकारहरूले दर्शकसँगै नाचगान गर्दै मनोरञ्जन प्रदान गरेका थिए। पछिल्लो समय चर्चामा रहेको फिल्मको गीत ‘पाकेको चिउरी’ मा कलाकारसँगै हजारौँ दर्शकले नाच्दै प्रचारमा साथ दिएका थिए।
फिल्मप्रति दर्शकको उल्लेखनीय चासो देखिएपछि अभिनेता सुशील श्रेष्ठ, अभिनेत्री अञ्जना बराईलीलगायत कलाकारहरू उत्साहित बनेका छन्। निर्देशक विजय केरुङले माइमेलामा देखिएको दर्शकको उपस्थितिले आफू अत्यन्त खुसी भएको बताए। उनले प्रचारलाई अझ तीव्र बनाउने उद्देश्यले झापाका विभिन्न कलेज तथा स्कुलमा पुगेर विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने जानकारी दिए।
उनले भने,
“फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारमा कुनै कमी हुन दिँदैनौँ। माघ १ गते माइमेलामा दर्शकसँग रमाइलो गर्यौँ, आज स्कुल र कलेजमा पुग्नेछौँ।”
लोकलयमा आधारित गीत ‘पाकेको चिउरी’ लाई दर्शकले विशेष रुचाएका छन्। साथै फिल्मको ट्रेलरलाई युट्युबमा तीन दिनमै ११ लाखभन्दा बढी पटक हेरिएको छ। दर्शकको बढ्दो चासोले कलाकार तथा निर्माण पक्ष थप उत्साहित देखिएका छन्। हाल पूर्वी नेपालमा निर्माता दीपक सिवाकोटी, निर्देशक विजय केरुङ, अभिनेता सुशील श्रेष्ठ, अञ्जना बराईलीलगायत टोली प्रचारमा सक्रिय छन्।
एक्सन हिरोका रूपमा छुट्टै पहिचान बनाएका सुशील श्रेष्ठ र लोकप्रिय अभिनेत्री अञ्जना बराईलीको केमेस्ट्रीले फिल्मप्रति दर्शकको हाइप अझ बढाएको छ। ट्रेलरमा सुशील श्रेष्ठको चर्चित डाइलग
‘पारसलाई मन परे दरबार, मन नपरे तलवार’
सामाजिक सञ्जाल तथा टिकटकमा व्यापक रूपमा प्रयोग भइरहेको छ।
एक्सन–सस्पेन्स कथावस्तुमा आधारित फिल्मले सत्ताको आडमा हुने दमनकारी प्रवृत्तिलाई प्रस्तुत गरेको देखिन्छ। सुशील श्रेष्ठको सशक्त एक्सनले दर्शकमाझ छुट्टै कौतुहलता सिर्जना गरेको छ। फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ मा दीपक सिवाकोटीको कथा तथा लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन रहेको छ।फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने ओएसआर डिजिटल सहकार्यकर्ता रहेको छ।


