काठमाडौं । निर्देशक सुदीप भुपाल सिंहको निर्देशनमा बनेको नेपाली सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।
सार्वजनिक गरिएको स्केच पेन्टिङ पोस्टरमा सिनेमाका सबै मुख्य कलाकार समावेश छन्। आकर्षक पोस्टरले सिनेमाप्रति दर्शकको ध्यान खिच्न सफल हुने निर्माण पक्षको विश्वास छ। विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर र पोस्टरले पनि दर्शकको राम्रो प्रतिक्रिया पाइसकेका छन्।
यस सिनेमामार्फत निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। पछिल्लो समय सामाजिक तथा पारिवारिक सिनेमाप्रति दर्शकको आकर्षण बढिरहेको सन्दर्भमा ‘श्री बुकुरो’को कथाले दर्शकको मन जित्नेमा निर्देशक सिंह विश्वस्त छन्।
सिनेमा हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेकाले, प्रचारको सुरुआत स्वरूप पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ।
निर्देशक सिंहकै लेखनमा बनेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ।
सिनेमाको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो। गीतमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ।


