काठमाडौँ । यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को प्रचारप्रसारलाई तीव्र बनाउन कलाकारसहितको टिम पोखरा पुगेको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ फिल्मबारे थप जानकारी पुर्याउने उद्देश्यले निर्माण टिम पोखरा पुगेको हो।
पोखरा पुगेका कलाकारहरूमा विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल लगायत रहेका छन्। उनीहरूसँगै फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली पनि पोखरा पुगेका हुन्।
पोखरा पुगेपछि निर्माण टिमले पत्रकार सम्मेलन (प्रेस मिट) आयोजना गरेको निर्माता रसालीले जानकारी दिए। उनका अनुसार प्रेसमिटमार्फत फिल्मको विषयवस्तु, निर्माण प्रक्रिया र प्रदर्शनबारे जानकारी गराइएको हो।
यसअघि सोमबार मात्रै फिल्मले केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको थियो, जसअनुसार अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
फिल्मका निर्देशक चन्द्र पन्त का अनुसार प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन भारतबाट अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत नेपाल आएर सक्रिय रूपमा संलग्न छन्। उनीहरूका साथै नेपालमै रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिम्रन पन्त पनि प्रचार अभियानमा उत्तिकै जुटिरहेका छन्।
आर्या इन्टरटेन्मेन्ट को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
फिल्मको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले लेखेका हुन्। संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को रहेको छ भने गीतका भिडियोहरूमा गंभीर बिष्ट र दिलिप ओखेडा को कोरियोग्राफी छ। अभिमन्यू निरवी द्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ। छायांकन नवराज उप्रेती ले गरेका हुन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना को लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठ ले गरेका छन्। ट्रेलर र टिजरको निर्माण साहिल खान ले गरेका हुन्। फिल्मको वितरण आरआर फिल्म्स ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।
उल्लेखनीय कुरा के छ भने फिल्ममा समावेश गीतहरू ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ ले दर्शकमाझ निकै चर्चा बटुलिसकेका छन्। यी गीतहरूले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेका छन्।


