काठमाडौं : भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’ ले सेन्सर पास पाइसकेको छ। दुई दिनअघि केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो, जसअनुसार सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउनेछन्।
चलचित्र हेर्ने क्रममा सेन्सर बोर्डका सदस्यहरू निकै भावुक बनेका छन्। उनीहरूले फिल्मको कथावस्तु र कलाकारको अभिनयले आफूहरूलाई गहिरोसँग छोएको प्रतिक्रिया दिएका छन्।
फिल्म हेरिसकेपछि सेन्सर बोर्डका सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरी ले चलचित्रको कथा आकर्षक र लोभलाग्दो रहेको बताए। उनले व्यक्तिगत रूपमा फिल्म निकै मन परेको उल्लेख गर्दै पटक–पटक भावुक बनेको अनुभव सुनाए।
‘आमाको विषयमा यसअघि पनि केही चलचित्र बनेका छन्, ती सबैमा आमाको दुःख देखाउने प्रयास गरिएको थियो,’ उनले भने, ‘तर “आ बाट आमा” ती सबैभन्दा फरक छ। यसले आमाको कथालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरेको छ, जुन निकै आकर्षक र प्रभावकारी लाग्यो। व्यक्तिगत रूपमा यो फिल्म मलाई अत्यन्त मन पर्यो।’
उनले थपे, ‘फिल्म हेर्दा म धेरै पटक भावुक भएँ। पारिवारिक कथामा बनेको यो चलचित्रले मलाई मात्र होइन, धेरै दर्शकलाई रुवाउन सक्छ।’
अन्य सेन्सर बोर्ड सदस्यहरू तथा फिल्म हेरिरहेका निर्माण पक्षका सदस्यहरूको पनि आँखामा आँसु देखिन्थ्यो। सेन्सर बोर्डका अर्का सदस्य सम्पर्ण श्रेष्ठ ले पनि चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए।
‘पछिल्लो समय नेपाली चलचित्रहरू निकै राम्रो बन्न थालेका छन्,’ उनले भने, ‘त्यसमध्ये “आ बाट आमा” एक अत्यन्त सशक्त पारिवारिक चलचित्र हो। यो फिल्म हलमा गएर हेर्न म दर्शकलाई आग्रह गर्न चाहन्छु।’
सेन्सर बोर्डका सदस्यहरूबाट आएको सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष चलचित्रप्रति थप उत्साहित देखिएको छ। चुनावी माहोल तातिएको समयमा पनि फिल्मको हाइप घटेको छैन।
फिल्मका गीत ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ ले पनि दर्शकलाई भावुक बनाइरहेका छन्। यी गीतले युट्युबमा हालसम्म ३० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको निर्देशन चन्द्र पन्त ले गरेका हुन्। उनकै कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को रहेको छ। कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडा ले गरेका छन् भने संवाद अभिमन्यु निरवी द्वारा लिखित हो, जसमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्त को सहकार्य छ।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना को लगानी रहेको छ। कार्यकारी निर्माता करण सिंह रसाली हुन्। छायांकन नवराज उप्रेती, सम्पादन मिलन श्रेष्ठ, ट्रेलर तथा टिजर निर्माण साहिल खान ले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्स ले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।


