काठमाडौँ । आज शुक्रबारबाट दुई नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकसाथ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुवै फिल्मबीच देशव्यापी व्यावसायिक प्रतिस्पर्धा सुरु भएको छ।
यद्यपि, हल पाउने विषयमा भने दुवै फिल्मले केही चुनौती सामना गरेका छन्। आजैबाट प्रदर्शनमा आएको विदेशी फिल्म ‘प्राइमेट’ तथा अघिल्ला हप्तादेखि प्रदर्शनमा रहेका ‘परिवर्तन’ र ‘गोबर गणेश’ जस्ता फिल्महरूले अझै पनि केही शो ओगटेका छन्।
फिल्म ‘द ब्लू लाइट’ र ‘आ बाट आमा’ फरक–फरक कथामा आधारित फिल्म हुन्। दुवै निर्माण पक्षले आफ्ना फिल्म उत्कृष्ट बनेको दाबी गरेका छन्।
बलिराम चौहानको निर्देशनमा बनेको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा सन्तोषजनक शो पाएको छ। फिल्मले करिब १२० भन्दा बढी शो प्राप्त गरेको छ। स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस फिल्ममा अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, आयुष्मान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। फिल्मका सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्।
त्यस्तै, चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’ आमाको भावनात्मक कथामा आधारित फिल्म हो। यस फिल्ममा भारतीय चर्चित अभिनेता प्रदीप रावतसहित नेपाली कलाकारहरू विपना थापा, पल शाह, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीको अभिनय रहेको छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको मेकिङ र कलाकारको सशक्त लाइनअपका कारण दर्शकको राम्रो रुचि पाउने अपेक्षा गरिएको छ। फिल्मले देशव्यापी रूपमा १५३ शो पाएको छ। फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्।


