काठमाडौं — लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ आज (शुक्रबार) बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट उत्साहजनक शो पाएको छ।
करिब २०० शो सहित हल प्रवेश गरेको ‘कुमारी’ले अपेक्षित रूपमा नै बिहानी शोहरूमा राम्रो दर्शक उपस्थिति देखाएको छ। काठमाडौं उपत्यकाका मल्टिप्लेक्सदेखि मोफसलका हलसम्म दर्शकको सकारात्मक साथ मिलेको वितरकले जनाएका छन्। विशेष गरी पहिलो शो हेरेर निस्किएका दर्शकबाट चलचित्रले एकदमै सकारात्मक प्रतिक्रिया पाएको छ।
दर्शकहरूले नयाँ कलाकारहरूको अभिनय र निर्देशकको प्रस्तुतिको खुलेर प्रशंसा गरेका छन्। नेपाली प्रेमकथामा आधारित चलचित्रहरूमध्ये ‘कुमारी’लाई उत्कृष्टमध्ये एक भन्दै प्रतिक्रिया आएको छ। चलचित्र युनिट कलाकारहरूसहित बिहानैदेखि विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया संकलन गरिरहेको छ, जसले टिमलाई थप उत्साहित बनाएको देखिन्छ।
प्रेम कथानक निर्देशनमा माहिर मानिने दिनेश राउतले यस चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा प्रेम, मानवीय संघर्ष र पारिवारिक अन्तर्द्वन्द्वलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। यही चलचित्रबाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
महेन्द्र अधिकारी निर्माता र केदार भुसाल कार्यकारी निर्माता रहेको ‘कुमारी’को प्राविधिक पक्ष पनि बलियो रहेको निर्माण पक्षको दाबी छ। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको यस चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गरेका हुन्। मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।


