काठमाडौं , माघ २७
निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने नेपाली चलचित्र ‘कस्तुरी’को मंगलबार बिहान शुभमुहूर्त गरिएको छ। ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायांकन औपचारिक रूपमा सुरु गरिएको हो।
निर्देशक ऋत बोहोराका अनुसार शुभमुहूर्तकै दिनदेखि सुटिङ प्रारम्भ गरिएको छ। उनले भने, “आजैबाट फिल्मको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासका क्षेत्रमा हुनेछ।”
निर्देशक बोहोराले फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्ने जानकारी दिएका छन्। यस चलचित्रमार्फत अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।

फिल्ममा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमको अभिनय रहनेछ। साथै, विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन्।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा निर्देशक ऋत बोहोराले नै लेखेका हुन्। फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्।
फिल्मको छायांकन आलोक शुक्लाले गर्नेछन् भने प्रमुख सह–निर्देशकका रूपमा ललित बिष्ट रहेका छन्। संगीत प्रशान्त शिवाकोटीको रहनेछ भने निर्माण व्यवस्थापनको जिम्मा दिलीप पन्तले सम्हाल्नेछन्।


