काठमाडौं — छायाङ्कनको तयारीमा रहेको चलचित्र ‘जिरो डिग्री’ मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण पक्षले चलचित्रको केन्द्रीय महिला पात्रका लागि उनलाई चयन गरेको हो।
हालै सार्वजनिक व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ ले चर्चा बटुलिरहेको यस चलचित्रमा सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ। रङ्गमञ्च र चलचित्रमा सशक्त अभिनयका लागि परिचित विजय बराल मुख्य भूमिकामा रहेका छन्। सनिशा र विजयको जोडी पर्दामा कसरी प्रस्तुत हुनेछ भन्नेबारे निर्माण टिमले खुलाएको छैन।
उक्त गीतमा गायक अङ्कित बाबु अधिकारी को स्वर, युवराज काफ्ले को शब्द तथा अङ्कितकै सङ्गीत रहेको छ। गीतले समसामयिक राजनीति र विकासको नाममा हुने टालटुले प्रवृत्तिमाथि तिखो व्यङ्ग्य प्रहार गरेको छ।
मेघौली फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित छ। कथा सडक सञ्जाल नपुगेको दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशबाट सन्तान आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने उथलपुथलपूर्ण घटनाक्रम वरिपरि केन्द्रित रहनेछ।
चलचित्रको निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्ले ले संयुक्त रूपमा गर्दैछन्। कथाकार राजन भुसाल ले अभिनयसमेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। छायाङ्कन निशाल पौडेल ले गर्नेछन् भने वितरणको जिम्मा कुबेर सिने डिस्ट्रिब्युसन ले लिएको छ।मौलिक कथावस्तु र सशक्त कलाकार संयोजनका कारण ‘जिरो डिग्री’ प्रति दर्शकमाझ उत्सुकता बढ्दै गएको छ।


