काठमाडौं, चैत्र २५
डोनाल्ड ट्रम्प ले इरान सँग दुई हप्ते युद्धविरामको सहमति गरेको घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।
बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको हो। मे डेलिभरीका लागि डब्लुटीआईको मूल्य १८.१० डलर (१६.०२ प्रतिशत) ले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ। कारोबारका क्रममा मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन पछिल्लो समयकै न्यून स्तरमध्ये एक हो।
युद्धविरामसँगै इरानले होर्मुज जलडमरू खुला गर्ने सहमति जनाएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका हुन्। उक्त जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यसमा आएको अवरोधले बजारमा ठूलो असर पारेको थियो।
यसअघि ट्रम्पले इरानले जलमार्ग नखोलेमा कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका थिए। तर अन्ततः दुवै पक्षबीच अस्थायी युद्धविराम भएपछि तनाव केही कम भएको छ।
इरानका विदेशमन्त्री अब्बास अरागाची ले पनि आक्रमण रोकिएमा आफूहरूले पनि सैन्य गतिविधि स्थगित गर्ने बताएका छन्।
युद्धका कारण गत मार्च महिनामा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो। तर पछिल्लो सहमतिले बजारमा केही स्थिरता ल्याएको छ।
यद्यपि विश्लेषकहरूले दीर्घकालीन शान्तिका लागि अझै धेरै राजनीतिक र प्राविधिक विषय समाधान गर्नुपर्ने बताएका छन्।


